काठमाडौं । काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै राखिएको कारभित्र एक महिला मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार ती महिलाको शव जलेको अवस्थामा भेटिएको हो । तारकेश्वर नगरपालिका–९ बस्ने ४१ वर्षीया रश्मी रिजाल मृत अवस्थामा भेटिएको एसएसपी घिमिरेले बताए ।
उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत थिइन् । पारिवारिक स्रोतका अनुसार रिजाल साउन ८ गते बिहानदेखि परिवारको सम्पर्कमा आएकी थिइनन् । शनिबार दिउँसो करिब १ बजे बीएई ०४१० नम्बरको विद्युतीय कारको पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेको हो ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बालाजुको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।













