सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पदबाट राजीनामा दिएका हुन् ।
आज शनिबार प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । उनले सत्ता साझेदार दुई दलबीचको सहमतिको अवधि सकिएसँगै राजनीतिक विश्वासको वातावरण कमजोर बन्दै गएको र अन्ततः अविश्वासको प्रस्ताव दर्ता भएको पनि बताए ।
दुई दलबीचको सहमति कार्यान्वयनका निम्ति आफूले निरन्तर पहल गरेको उनले जिकिर गरे । उनले प्रदेशको राजनीति अत्यन्त अस्थिर बनेको टिप्पणी गरे । विश्वास र अविश्वासबीचको दूरी निकै छोटो भएको उनले बताए ।
गएको असार ३२ गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।













