काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले आर्थिक ऐन संशोधन गरेर शिक्षा र स्वास्थ्यको कर छुट दिने निर्णय गरेको हो । ‘आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने,’ निर्णयमा भनिएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएपछि व्यापक आलोचना भएपछि सरकार उक्त निर्णयबाट पछि हटेको थियो । यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो कर हटाउने निर्णय गरेका थिए ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । प्रधानमन्त्री र अर्थमन्त्रीवीच लामो परामर्शपछि उक्त निर्णयबाट पछि हट्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।













