जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका नेता र कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् ।
साम्पाङ आज मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेको थियो । सोही क्रममा उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका नेता र कार्यकर्ता लखेटिएका हुन् ।
पार्टी कार्यक्रममा सहभागी हुन साम्पाङ जनकपुर आउने तयारीमा छन् । हिन्दु सम्राट सेनाले भने विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै सम्पाङलाई निषेध गर्ने जनाएको छ ।
उनले यसअघि पनि एउटा स्टाटस लेख्दै जनकपुरमा लफडा भएको र गृहमन्त्रीले फोन अफ गरेको बताएका छन् । उनले उहिलेको कुरा अनि धर्मको कुरा लिएर लफडा भएको पनि उल्लेख गरेका छन् ।
साथै साम्पाङले आफ्ना पार्टी कार्यकर्तालाई संयमित हुन आग्रहसमेत गरेका छन् । जनकपुरमा आज श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।













