काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताएका छन् । इन्जिनियर्स एशोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए ।
उनले भने, “विकास निर्माणका क्रममा इतिहास, भूगोल, संस्कृति, जातीय बनोटलगायत विविधतालाई पनि बिर्सन हुँदैन । वर्तमान समयको माग एवं नयाँ पुस्ताको चाहना र आकाङ्क्षालाई सम्बोधन गर्नेगरी उत्पादन, रोजगारी तथा आर्थिक क्रियाकलापलाई तीव्र रुपमा अघि बढाउनु आवश्यक छ।”
राष्ट्रपति पौडेलले भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतसाधनले धनी हाम्रो देशलाई आज दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको भन्दै मुलुकको सामु जलवायु परिवर्तन ठूलो चुनौतीका रुपमा रहेको उल्लेख गरे । उनले भने, “यस्तो अवस्थामा हाम्रा सडक, पुल र जलविद्युत् आयोजना प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्दछ। हाम्रो विकास ‘हरित विकास’को सिद्धान्तमा आधारित हुनुपर्दछ।”
राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नै हाम्रो विकास र मानवीय हितका अनेकन आयामलाई सम्बोधन गर्दछ भन्ने कुरालाई बिर्सन नहुने भन्दै लोकतन्त्रको यो सौन्दर्यलाई केवल आदर्श मात्र होइन हामीले व्यवहार र आचरणमा अवलम्बन गर्न सक्यौँ भने मात्र लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उदेश्य पूरा हुने बताए ।
राष्ट्रपति पौडेलले कुनै पनि देशको भविष्य त्यस देशका युवाको सोच, ऊर्जा र क्षमतामा निर्भर गर्ने भन्दै युवा मस्तिष्कको नवीन सोच तथा इन्जिनियरको प्राविधिक कौशलसँगै जोडिएमात्र आर्थिक समृद्घि र समृद्ध नेपालको सपना साकार हुने स्पष्ट पारे ।
उनले भने, “समयले आज त्यो दायित्व तपाईहरूलाई सुम्पेको छ। हाम्रा दक्ष युवा इन्जिनियर रोजगारी र अवसरको खोजीमा बिदेसिनेक्रम बढ्दो छ । यो देशका लागि चिन्ताको विषय हो। म सरकार र निजी क्षेत्रलाई युवा इन्जिनियर/आर्किटेक्टका लागि स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न आग्रह गर्दछु।”













