१ श्रावण २०८३, शुक्रबार

मिटरब्याज पीडित र सरकारीवीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी


मिटरब्याज पीडित

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीवीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिवीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो ।

सोका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (सिंहदरबार) मा सरकारी वार्ता टोली र मिटरब्याजी पीडित पक्षका प्रतिनिधिहरूवीच अन्तिम चरणको निर्णायक वार्ता जारी छ ।

यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षवीच सघन छलफल भएको थियो । हिजोको सोही छलफल र सहमतिलाई जग मानेर आज अन्तिम सम्झौताको तयारी गरिएको हो ।

सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन् । टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्यका रूपमा रहेका छन् ।

पीडित पक्षको तर्फबाट वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहेका छन् । टोलीका सदस्यहरूमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !