काठमाडौं । आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएर ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका परिवार ज्यानसम्बन्धी कसुरमा जाहेरी दिन प्रहरी वृत्त कालिमाटी जाने तयारी गरेका छन् । मृतक नेपालीको परिवारले काठमाडौं महानगरपालिका र खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर जाहेरी दिन लागेका हुन् ।
नेपालीको परिवारले कुन मुद्दामा कसलाई प्रतिवादी बनाउने भन्नेबारेमा कानुन व्यवसायीहरूको सल्लाहबमोजिम ज्यानसम्बन्धी कसुरमा जाहेरी लेखाउन लेखापढी व्यवसायीकहाँ पुगेको बताइएको छ ।
नेपालीको परिवारसँग सरकारले हिजो मात्र ९ बुँदे सहमति गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबिच सहमति भएको थियो ।
सहमतिका बुँदामा परिवारलाई उचित राहत प्रदान गर्ने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्नेलगायतका विषय उल्लेख छन् ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि नेपालीले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयास गरेको भोलिपल्ट असार २५ गते उपचारको क्रममा वीर अस्पतालको बर्न युनिटमा उनको निधन भएको हो ।













