काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । अन्सारीले आफूलाई प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी कुटपिट गरेको दाबी गर्दै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गरेका हुन् ।
आज सोमबार काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको बेडबाट उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । उनले सबै सम्बन्धित सरकारी निकाय, संघीय संसदका सदस्यहरू, प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकहरूसँग आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदि आग्रह गरेका हुन् ।
गत शनिबार अपराह्न ५ बजे तिर १०–१२ प्रहरीले लछारपछार गर्दै कुटपिट गरी आफूलाई गम्भीर घाइते बनाएको उनले जनाएका छन् । हाल त्रिवि शिक्षण अस्पतालमा आफ्नो उपचार भइरहेको उनले उल्लेख गरेका छन् ।
कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टरमा पुगेका अन्सारीलाई प्रहरीले गत शनिबार कुटपिट गरी नियन्त्रणमा लिएको थियो । प्रहरीको कुटपिटबाट घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अन्सारीले आफूलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म कुनै जानकारी नदिइएको, पक्राउ पुर्जी पनि नदेखाइएको तथा पक्राउको कानुनी हैसियतबारे कुनै स्पष्टता नरहेको दाबी गरेका छन् ।













