२४ असार २०८३, बुधबार

प्रतिनिधिसभा : उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग


राजेन्द्रकुमार राई

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाइएका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन् ।

नेकपा (एमाले)का राजेन्द्रकुमार राईले आफूहरूले प्रतिनिधिसभाको नियमावलीमा भएको व्यवस्थाबमोजिम नै प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन माग गर्दै आएको जिकिर गरे । उनले संवाद र सहमतिको वातावरण सृजना गर्न पनि आग्रह गरे ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले यसअघिको पहिलो बैठकमा सांसद राईले सभामुखलाई लक्षित गरी बोलेका शब्द रेकर्डबाट हटाउन सचिवालयलाई निर्देश गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का परशुराम तामाङले नेपालले कुनै पनि मुलुकको सीमा मिच्ने कुनै काम नगरेको र छिमेकीसँगको मित्रता कायम गर्दै आएकाले मिचिएको भूमि फिर्ताको माग गरेको बताए ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिका विषयमा जवाफ माग गरे । उनले सामाजिक सञ्जालमा गालीगलौज गर्ने प्रवृत्ति बढेको र सरकारले सबैलाई समान रूपमा कारबाही गर्नुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटले उठेका विषयमा सदनमा आएर स्पष्ट पार्न सभामुखले गरेको प्रयास सार्थक नभएको टिप्पणी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !