२० असार २०८३, शनिबार

सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने


सरकारका १०० दिन

काठमाडौँ। सरकारले नेपाललाई आरोग्य पर्यटनको गन्तव्य देशका रूपमा विकास गर्ने उद्देश्यले सन् २०३५ सम्म पाँचवटा प्रमुख एकीकृत आरोग्य केन्द्र स्थापना गर्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाललाई आरोग्य पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले उक्त योजना अघि सारिएको बताए।

नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले प्रत्येक वर्षको अप्रिल १५ लाई विश्व आरोग्य दिवस मनाउने घोषणा गरिसकेको छ। उक्त दिवसलाई मुलुकभर अभियानका रूपमा सञ्चालन गर्ने, ‘आरोग्य पर्यटन गन्तव्य नेपाल, आर्थिक समृद्धिको आधार’ भन्ने दूरदृष्टिसहित राष्ट्रिय आरोग्य पर्यटन रणनीति (सन् २०२६ देखि २०३५ सम्म) तथा यससम्बन्धी कार्ययोजना (सन् २०२६ देखि २०३० सम्म) जारी भइसकेको मन्त्री पोखरेलले बताए।

उनले सन् २०३० सम्म कुल अन्ताराष्ट्रिय पर्यटक आगमनमा आरोग्य पर्यटकको हिस्सा ११ प्रतिशत पुर्‍याउने सरकारले लक्ष्य लिएको उल्लेख गरे। साथै सन् २०३५ सम्म पर्यटकको सन्तुष्टिस्तर ८.५ र १० कायम गर्ने समेत सरकारको योजना रहेको उनको कथन छ। सरकारले उदयपुर (कोशी नदी आसपास), अछाम (रामारोशन), बाजुरा बडिमालिका, अपी हिमाल ट्रेकिङ रुट, दोर्दी हिमाल ट्रेकिङ रुटलगायत क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन प्रतिवेदन तयार पारेको उल्लेख गरेको छ।

सरकारले गत वैशाख २ गते नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई एकीकृत रुपमा सञ्चालन गर्ने उद्देश्यले ‘नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान विकास समिति (गठन आदेश), २०८२ स्वीकृत गरी सञ्चालनमा ल्याइसकेको जनाएको छ।

साथै पोखरा अन्ताराष्ट्रिय विमानस्थलमा आगामी सेप्टेम्बरदेखि नियमित अन्ताराष्ट्रिय उडान शुरु गर्ने गरी फ्लाई दुबईको ‘समर’ र ‘विन्टर सिजन’को उडान तालिका स्वीकृत भइसकेको जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !