विराटनगर । नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । विराटनगरका कांग्रेसका नेता गिरी आज पक्राउ परेका हुन् ।
उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका अनुसार गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो ।
बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरेको थियो । प्रहरीले गिरीको घरबाट के बरामद भयो भन्ने खुलाएको छैन । गिरी यसअघि पनि पटक-पटक विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै विवादमा आउने गरेका व्यक्ति हुन् ।
अपहरण मुद्दामा कारागारभित्र रहँदासमेत उनी पटक–पटक विवाद गरेका थिए । कैद भुक्तानपछि कारागारबाट छुटेका गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनीमाथि कैदीबन्दीको रकम असुली र भत्ता अपचलन गरेको आरोप लागेको छ ।













