काठमाडौं । पासपोर्ट छपाइ ठेक्का प्रकरणमा कारबाहीको माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको हो ।
आज सोमबार अख्तियारले १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । पासपोर्ट छपाइ प्रकरणमा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो दाबी गरिएको छ ।
अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राजभण्डारी, उपसचिवहरू राजाराम दाहाल, भेष प्रसाद भुर्तेल, पुस्कर नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाईं, नेपाली सहजकर्ता सिद्धार्थ थापा र मनिन्द्रराज मल्ल लगायत १६ जना व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।
उक्त प्रकरणमा १० कर्मचारी, दुई कम्पनी, चार विदेशी नागरिक र दुई जर्मन कम्पनीका नेपाली प्रतिनिधिसहितलाई सजायको मागदाबी छ । अहिले मुद्दाको रुजु भइरहेको छ । सम्भवतः आजै मुद्दा दर्ता हुने जनाइएको छ ।













