काठमाडौं । आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु भरतपुर पुगेका छन् ।
रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगेका प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह (बालेन), सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा एउटै मञ्चमा देखिएका छन् । उनीहरू तीनैजना पहिलोपटक एउटै मञ्चमा देखिएका हुन् ।
नेपाली कांग्रेसका सभापति गगन थापा चितवन पुगेका छन् भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगेका छन् ।
यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगेका छन् ।
रास्वपाले उद्घाटनसत्रमा उपस्थितिका निम्ति सबै पार्टीका अध्यक्ष/सभापतिलाई निम्ता पठाएको थियो । रास्वपा महाधिवेशन भरतपुरमा आजदेखि सुरु हुँदै छ । महाधिवेशन यही असार ९ गतेसम्म चल्नेछ ।













