काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीसहितको टोलीले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन खानेपानी संरचनाको स्थलगत अनुगमन गरेको छ । टोलीले आज काठमाडौँको कपन र सुन्दरीजल क्षेत्रमा निर्माणाधीन खानेपानी आपूर्ति संरचनाको अवलोकन गर्दै आयोजनाको प्रगति समीक्षा गरेको थियो ।
अनुगमन टोलीमा आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठलगायत प्राविधिक तथा सम्बन्धित निकायका प्रतिनिधि सहभागी थिए । अनुगमनका क्रममा सचिव पुडासैनीले निर्माण प्रगति, गुणस्तर, कार्यसम्पादन अवस्था तथा निर्धारित समय सीमाभित्र काम सम्पन्न गर्ने विषयमा जानकारी लिएका छन् ।
उनले आयोजनाको गुणस्तर कायम राख्दै तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । सचिव पुडासैनी आयोजना समयमै सम्पन्न गरी नागरिकलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने जानकारी दिए ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख श्रेष्ठका अनुसार मेलम्चीको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा हाल एक हजार ८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ ।
पिआइडीबाट यो नेपालमा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो व्यासको पाइप भएको उनले बताए ।
इन्जिनियर श्रेष्ठले भने, ‘हाल विभिन्न स्थानमा रिजर्भयर ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका छन् । मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पु¥याउन निर्देशनालयले दिन तथा रात दुवै सिफ्टमा निर्माणको काम गरिरहेको छ ।’
टोलीले गोकर्णेश्वरस्थित विकेन्द्रीकृत फोहोरपानी प्रशोधन प्रणालीको समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा फोहोरपानी व्यवस्थापन, प्रशोधन प्रक्रियाको प्रभावकारिता तथा सञ्चालन अवस्थाबारे जानकारी लियो ।
मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित यी संरचनाले काठमाडौँ उपत्यकाका नागरिकलाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउनुका साथै वातावरणमैत्री सरसफाइ व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
अनुगमनका क्रममा आयोजना कार्यान्वयनमा देखिएका चुनौती, आगामी कार्य योजना तथा सेवाको दिगोपनाबारे छलफल भएको थियो ।













