भक्तपुर । तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको एक महिने मेला सम्पन्न भएको छ । भक्तपुरको दक्षिणतर्फ खरिपाटी, देकोचा, चाँगुनारायण मन्दिर र नगरकोट चारैतिरबाट पक्की सडक हुँदै पुग्न सकिने चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित उक्त मेला सोमबार सम्पन्न भएको हो।
एक महिने पुरुषोत्तम मेलामा सत्सग, प्रवचन, भजनलगायतको प्रस्तुतिसहित सोमबारदेखि एक महिने मेला सम्पन्न भएको मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिए।
मेला व्यवस्थापन गर्न सिङ्गो गाउँ लागेको बताउँदै उनले स्थानीयस्तरबाटै महिना दिनसम्मका लागि प्रवचन र भजन कीर्तनको व्यवस्था, नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन, यहाँ आउने दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरिएको बताए।
भक्तपुरका चार वटै नगरपालिका, काठमाडौँ, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकलगायत विभिन्न ठाउँका दर्शनार्थीको मन्दिरमा आगमन भएको थियो।
मन्दिरको संरक्षकसमेत रहेका पुरीले भने, “यो ३०० वर्ष पुरानो मन्दिर हो, दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनः निर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ।”
स–साना तीन खोलाको सङ्गमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामले चिनिने गरिन्छ। मन्दिर संरक्षणसँगै ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण वर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिसरमा मलमासमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने तथा यसले आन्तरिक पर्यटनको विकासमा टेवा पुग्ने विश्वास रहेको बताए।
यहाँको कुण्डमा स्नान गरेमा छालालगायत विभिन्न रोग नाश हुने जनविश्वास रहँदै आएको छ। मच्छेनारायण मन्दिर परिसरमा रहेको श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्रामको गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरूप श्रीमूर्तिको यसै वर्ष स्थापना गरिएपछि यहाँको धार्मिक महत्त्व र आकर्षण अझै बढेको वडाध्यक्ष जयन्द्र खड्काले बताए।
ख्यो पुखमा एक महिने मेला सम्पन्न
यसैगरी, भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा लागेको एक महिने मेला सोमबारदेखि सम्पन्न भएको छ। सोमबार नै एक महिने मत्स्यनारायण अर्थात् पुरुषोत्तम मलमास मेला सम्पन्न भएको हो।
यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गरिने र यहाँका कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधि नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ।













