१ असार २०८३, सोमबार

नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ


आशिका तामाङ

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आवश्यक परे नेपाल भारत सीमामा पर्खाल वा काँडेतार लगाउन सरकारलाई आग्रह गरेकी छन् । आज सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले यस्तो बताएकी हुन् ।

सीमासम्बन्धी विषयमा सत्यतथ्य छानिबन गरी आवश्यक कूटनीतिक पहल गर्न उनले आग्रह गरिन् । सांसद आशिका तामाङले सुस्तामा एसएसबीको गतिविधिको वास्तविकताबारे सरकारसँग जानकारी माग गरेकी छन् ।

“आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा वाल (पर्खाल) लगाउनुपरे वाल, नत्र भने काँडे तारबार पनि लगाइयोस्,” उनले भनिन् । उनले सुस्ताका जनतालाई भारतीय पक्षबाट धम्क्याइएको विषयपछि सरकारले चालेको कदम र आउँदो रणनीतिबारे जानकारी दिन पनि आग्रह गरिन् ।

कुनै पनि राष्ट्रको सार्वभौमिताको आधार भनेकै आफ्नो भूभागको संरक्षण र सीमाको सुरक्षाको सुनिश्चितता भएको उनले उल्लेख गरिन् । उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौमिकता, अखडतासँग जोडिएको संवेदनशील विषय भएको बताइन् ।

“कुनै पनि राष्ट्रको सार्वभौमिकताको आधार भनेको भूभागको संरक्षरण र सीमाको सुनिश्चितता हो । यदि, राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौकितामै प्रश्न उठाउँछ,” उनले भनिन् । यस्ता समस्या केवल यी क्षेत्रमा मात्रै सीमित नरहेर अन्य क्षेत्रमा समेत रहेको भनेर सरकारको ध्यानाकर्षण गरिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !