काठमाडौँ। आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा प्रतिनिधिसभा सदस्यहरूले संसद्को अनुमतिबिना करका दरमा हेरफेर गर्न नपाइने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
छलफलमा भाग लिँदै सांसद निश्कल राईले संसद्मा पेस भएको विधेयकमा कर दर परिवर्तन गरिएको विषय सार्वजनिक भएको उल्लेख गर्दै विधेयकलाई कार्यकारी (सरकार) ले आफूखुसी कसरी संशोधन गर्न सक्छ भन्ने प्रश्न उठाए। उनले करका दर सरकारको स्वेच्छामा परिवर्तन हुन नहुने भन्दै यस विषयमा संवैधानिक सीमा पालन गर्नुपर्नेमा जोड दिए।
उनले बाढीबाट क्षति पुगेको इलामका लागि बजेट विनियोजन नभएकोप्रति पनि सरकारको ध्यानाकर्षण गराए। सांसद युवराज दुलालले बजेटले जेन–जी आन्दोलनको भावनालाई समेट्न नसकेको टिप्पणी गरे। उनले मेलम्ची आयोजना प्रभावितको समस्या बजेटमा समावेश हुनुपर्नेमा जोड दिए।
त्यस्तै, सांसदहरू सुरेन्द्र चौधरी, चन्द्रमोहन यादव, आनन्दबहादुर चन्द, खड्ग शाही, समीक्षा बास्कोटा, मोहनलाल आचार्य, सोम शर्मा, आशीष गजुरेल, जनकसिंह धामी, भरतप्रसाद पराजुली, आकृति अवस्थी, गोविन्द पन्थी र कमल सुवेदीलगायतले जल, जमिन, जङ्गल र जनशक्तिको समुचित उपयोग, चुरे संरक्षणका लागि बजेट वृद्धि तथा धार्मिक पर्यटकीय क्षेत्रको विकासमार्फत पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराए।













