काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो अभिव्यक्ति फिर्ता लिएर क्षमायाचना गर्नैपर्नेमा नेकपा एमालेले आफ्नो अडान कायमै राखेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमालेको संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उल्लङ्घन गर्दै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिप्रति फिर्ता लिएर क्षमा याचना माग्न सुझाव दिएकी छन् ।
‘राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा दख्खल पुग्ने गरी दिएको अभिव्यक्तिको आज गम्भीर बहस र विरोध भइरहेको छ’, अर्यालले भनिन् ‘हामीले पटक पटक आग्रह गर्दा पनि जुन भुल प्रधानमन्त्रीले गर्नुभयो त्यो भुल सुधार गरियोस् र क्षमायाचना गरियोस् भनेर भनिरहेका छौँ तर सुनिएन ।’
उनले अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्दा सत्तापक्ष र प्रतिपक्षको विषय नबनाएको भन्दै राष्ट्रियताका सवालमा । साझा सहमति गरेर अघि बढ्नुपर्ने बताइन् । साथै, उनले राष्ट्रियताका सवालमा सङ्कल्प प्रस्ताव पारित गर्दै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्चाएसम्म सदन स्थगित गर्न माग गरिन् ।
गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए । यस्तो अभिव्यक्तिउपर एमालेले क्षमा माग्नुपर्ने अन्यथा सदनमा अवरोध गर्ने अडान राखेको हो ।












