काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा जारी रहेको हो ।
सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएतापनि कांग्रेस, एमाले र नेकपाका अध्यक्ष वा सभापति अनुपस्थित रहेका छन् ।
यद्यपि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी भएका छन् । यता हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले बैठक नै बहिष्कार गरेको छ । बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक ऐन महर सहभागी छन् । जसपा नेपालका तर्फबाट राष्ट्रियसभा सदस्य मोहम्मद खालिद पनि बैठकमा सहभागी छन् ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, लामिछानेसहित रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, नेताहरू विपीन आचार्य र दीपक बोहोरा सहभागी छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन बैठकमा सहभागी छन् ।
यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेत्री शाहजान खातुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुश्बु ओली बैठकमा सहभागी भएका छन् ।













