काठमाडौँ । रड प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा टिकटकमा ‘नेपाली ब्रो’ को रूपमा परिचित कुमार थापा पक्राउ परेका छन् । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमान कुमारले श्रीमती ईश्वरी भुजेलको हत्या गरेका हुन् ।
पैँयुटार बस्ने ‘नेपाली ब्रो’ भनिने ४२ वर्षीय कुमारले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरीमाथि फलामको रड प्रहार गरी हत्या गरेकाे नेपाल प्रहरीले जानकारी दिएको छ । वास्तविक नाम कुमार रहेका उनी प्रो रेस्लर खेलाडी हुन्।
हिजो शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा साढे ११ बजे मृत्यु भएको हो । रड प्रहार गर्ने कुमारलाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।













