काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि जेल चलान भएकी छन् । ललितपुर जिल्ला अदालतले आज टिकटकर अधिकारीलाई पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको हो ।
आज बिहीबार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको हो । उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा छ ।
उनलाई प्रहरीले इन्टरपोलको सहयोगमा १७ जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएर अदालतमा पेस गरेको थियो । उनी पछिल्लो समय चीनमा बस्दै आएकी थिइन् ।
कुमार चिमोरियाको जाहेरीअनुरूपको उक्त मुद्दामा टिकटकर अधिकारीसहित १० प्रतिवादी छन् । टिकटकर अधिकारीमाथि २१ करोड रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको दाबीसहित सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ ।













