१८ जेष्ठ २०८३, सोमबार

बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’


बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’

मलेखु, धादिङ । विभिन्न पोसाकमा सजिएका सयौँ बालबालिका । कसैको हातमा आफैँले बनाएका विज्ञानका सामग्री छन् भने कोही मञ्चमा सानदार नृत्य देखाउँदै छन् । कोहीले मञ्चमा उभिएर निर्धक्क आफ्ना विचारहरू राख्दै छन् । यो दृश्य धादिङको थाक्रे गाउँपालिकामा आइतबार आयोजित ‘प्रथम थाक्रे बाल महोत्सव’ को हो ।

यहाँका हरेकजसो दृश्य निकै लोभलाग्दो देखिन्थे । विद्यार्थीहरूले तयार पारेका विज्ञान प्रदर्शनी महोत्सवको आकर्षण बने । महोत्सवमा सहभागी जनजागृति मावि, कक्षा १० मा अध्ययनरत प्रतिमा घलानले आफ्नो अनुभव सुनाउँदै भने, “किताबमा पढेका कुरालाई आफैँले बनाएर देखाउन पाउँदा रमाइलो लाग्यो । यसले हाम्रो आत्मविश्वास बढाएको छ ।”

यस्तै भनाइ थियो, कक्षा ८ मा अध्ययनरत रविना ठकुरीको । “हामीले कक्षाकोठामा पढेको विज्ञानको सिद्धान्तलाई प्रयोग गरेर देखायौँ । साथीहरू र अभिभावकले हाम्रो कामको प्रशंसा गर्दा छुट्टै रमाइलो हुने रहेछ”, विज्ञान प्रदर्शनीदेखि विभिन्न क्रियाकलापमा भाग लिनुभएकी ठकुरीले सुनाए ।

महोत्सवमा थाक्रे गाउँपालिका क्षेत्रका ४२ विद्यालयबाट विद्यार्थी सहभागी थिए । विद्यार्थीहरूले बनाएका विभिन्न आकृतिमध्ये स्थानीय अन्नबालीको प्रयोग गरेर नेपालको नक्सामाथि बनाइएको कलात्मक बुट्टा सबैभन्दा आकर्षक बन्यो । विभिन्न जातजातिका पहिचान झल्कने सांस्कृतिक प्रस्तुतिहरूले महोत्सवमा थप रौनक थपेको अभिभावकहरुले प्रतिकृया दिए ।

बालबालिकाको सोच्ने शैलीलाई नयाँ उचाइ दिन र सिर्जनशीलताको विकास गर्न महोत्सवले निकै सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको भनाइ थियो । सैद्धान्तिक शिक्षालाई व्यावहारिक रूप दिन महोत्सवले ठूलो मद्दत पुर्याएको र थाक्रेका बालबालिकालाई नयाँ कुरा सिक्ने र सिकाउने राम्रो अवसर मिलेको उनले बताए ।

महोत्सवले बालबालिकाको नेतृत्व क्षमता विकास र व्यावहारिक शिक्षाको प्रवर्द्धनमा सहयोग पुगेको जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रतिक्रिया थियो । उनले भने, “बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित राख्नुहुँदैन । उनीहरूले समाज र संसारलाई बुझून्, आफ्नो प्रतिभा चिनून् र भोलि समाजको नेतृत्व गर्न सकून् भन्ने नै हाम्रो मुख्य चाहना हुनुपर्छ । बाल महोत्सवले बालबालिकाको चौतर्फी विकासका लागि बाटो देखाएको छ ।”

जेठ १६ र १७ गते दुईदिन सञ्चालन भएको महोत्सवमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी र उनीहरू आबद्ध विद्यालयलाई पुरस्कार वितरण गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !