कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र नक्टाबाबा (कालेश्वर) मन्दिर क्षेत्रमा गङ्गादशहरा पर्वको मेला लागेको छ । सोमबार बार रातिदेखि मन्दिर क्षेत्रमा सुरु भएको मेला मङ्गलबार साँझसम्म जारी रहनेछ ।
मेलामा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट उल्लेख्य सङ्ख्यामा श्रद्धालु भक्तजन धार्मिक क्षेत्रमा पुगेका छन् । हरेक वर्ष जेठको शुक्लपक्षको गङ्गादशहरा पर्वका अवसरमा यहाँ भव्य मेला लाग्ने परम्परा छ ।
नक्टाबाबा (कालेश्वर) मन्दिरमा सच्चा मनले पूजा गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । धार्मिक सहिष्णुता र सामाजिक सद्भावको प्रतीकका रूपमा परिचित यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीले विशेष आस्थाका साथ हेर्ने गरेका छन् ।
स्थानीय बिन्तीराम चौधरीका अनुसार नक्टाबाबा क्षेत्र प्राचीनकालदेखि तपस्या तथा साधनास्थलका रूपमा परिचित रहँदै आएको छ । दोदा नदीको तटीय क्षेत्रमा रहेको कालेश्वर महादेवको पूजा–आराधना गरे रोगव्याधि हट्ने, परिवारमा सुखशान्ति कायम हुने तथा सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको उनी बताउँछन् ।
गङ्गादशहरा पर्वका अवसरमा मन्दिर क्षेत्रमा विशेष पूजा, भजनकीर्तन, धार्मिक अनुष्ठानको आयोजना गरिएको छ । मेलामा व्यापारिक कारोबारका लागि टाढाटाढाबाट व्यापारी पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार खाना, सांस्कृतिक वस्तुहरु, व्यापारिक प्रयोजनका पसल मन्दिर परिसर क्षेत्रमा राखिएका छन् ।
मेलालाई मध्यनजर गर्दै बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाले जेठ १२ गते स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।













