काठमाडौं । सरकारले आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन् ।
यस्ता छन् बैठकका निर्णयहरू
१. अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल–चीन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना (चिलिमे–केरूङ)को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरिएको छ ।
२. कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ, जसअन्तर्गत मोटा धानको प्रतिक्वीन्टल रू. ३,६६० र मध्यम धानको प्रतिक्वीन्टल रू. ३,८६० तोकिएको छ ।
३. भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय भएको छ ।
४. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरिएको छ ।













