काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम दुरुपयोग गरी धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दैलेख जिल्लाको दुल्लु नगरपालिका–१२ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोनमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी अभद्र भाषा र धम्की दिएको अडियो सार्वजनिक भएको उल्लेख गरेको छ ।
कार्यालयका अनुसार कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार जिम्मेवारी पूरा गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई भय र त्रास सिर्जना गर्ने, अपमानजनक शब्द प्रयोग गर्ने तथा धम्क्याउने गतिविधि निन्दनीय र असह्य हुन् ।
उक्त घटना सार्वजनिक भएपछि प्रकाश खड्कालाई तत्काल कानुनी दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई कडा निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलका पक्षमा दृढ रहेको जनाएको छ ।
साथै, प्रधानमन्त्री, सचिवालय वा कार्यालयको नाम लिएर फोन, भेटघाट वा अन्य माध्यमबाट धम्की दिने, प्रभाव पार्ने वा अनुचित दबाब सिर्जना गर्ने कार्यमा नलाग्न सबैलाई आग्रह गरेको छ ।
कार्यालयले यस्ता घटनाबाट बच्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा सचिवालयको नाम जोडेर आउने कुनै पनि शंकास्पद फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र कामकारबाही अघि बढाउन सरकारी निकाय, स्थानीय तह र राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेको छ ।













