३१ बैशाख २०८३, बिहिबार

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रधानमन्त्री शाह अनुपस्थित


बालेन शाह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक जारी रहेको छ । सिंहदरबास्थित सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ः१५ बजे सुरु भएको बैठक अहिले पनि जारी रहेको हो ।

बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित रहेका छन् । बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने र नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने छन् ।

सोही बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । यसअघि बुधबारको बैठकमा उक्त नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेकामा विपक्षी दलले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै अवरोध गरेपछि आजका लागि कार्यसूची सरेको हो ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस हुने

बैठकमा अर्थमन्त्री डा वाग्लेले ‘आव २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

त्यसैगरी, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !