काठमाडौं । धादिङको बैरेनीमा तीनवटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत बैरेनीमा सडकमा रोकी राखेको ट्रकलाई गएराति अन्य दुईवटा सवारीले ठक्कर दिँदा दुर्घटना भएको हो ।
हिजो राती साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि सो बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा परेको उक्त बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेमध्ये तीनजना डिस्चार्ज भएका छन् । बाँकी ३४ घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा १९ र टिचिङ अस्पताल महारजन्जमा नौजनाको उपचार भइरहेको छ । अन्य घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।













