काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएसँगै अबदेखि संवैधानिक परिषद्को बैठकको गणपूरक संख्या चार भएपनि पुग्ने भएको छ ।
६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या चार राखिएको छ । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत यस्तो व्यवस्था गरेको हो । आज मंगलबार जारी अध्यादेशअनुसार ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि ४ जना उपस्थित हुनुपर्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले एक पटक फिर्ता पठाएको उक्त अध्यादेश सरकारले सोमबार पुन राष्ट्रपतिलाई पठाएको थियो । सोही अध्यादेश मंगलबार जारी भएको हो ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद ६ सदस्यीय हुन्छ । परिषदमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलको नेता, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष रहन्छन् ।












