२२ बैशाख २०८३, मंगलबार

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका हुन् ।

सरकारको सिफारिसमा आज मंगलबार उनले यो अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । राष्ट्रपतिले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।

सरकारले अध्यादेश जारी गर्न पुन: राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए ।

नेपाल राजपत्रमा प्रकाशनपश्चात् यो व्यवस्था कार्यान्वयन हुनेछ । सोही अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले जस्ताकोतस्तै जारी गर्न पुन: सिफारिस गरेको थियो । राष्ट्रपतिले आज भने सो अध्यादेश जारी गरेका छन् ।

अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद ६ सदस्यीय हुन्छ ।

परिषदमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलको नेता, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष रहन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !