काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई आफ्नो कुनै पनि कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको छ । जारी संसदीय दलको बैठकमा रास्वपाले सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन पनि निर्देशन दिएको छ ।
आज बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक रूपमा बसेको बैठकमा यस्तो निर्देशन दिइएको प्रवक्ता मनिष झाले जनाएका छन् । आगामी निर्वाचनमा उपयुक्त उमेदवार चयन र निर्वाचन पूर्वप्रशिक्षणको लागि वैशाख २० देखि क्यानिडेट क्लबको अभ्यास सुरु हुँदै छ ।
रास्वपाले सांसदहरूले धेरै कुराहरू सिक्न बाँकी रहेको भन्दै सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न तथा सकेजति सल्लाह र सुझाव लिन सुझाव दिएको छ ।












