काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । आज मंगलबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा गोल्छालाई उपस्थित गराउन आदेश दिएको हो ।
गोल्छाकी श्रीमती सीमा गोल्छाले आफ्ना श्रीमानलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि सुनुवाइ गर्दै विपक्षी महान्यायाधिवक्तालाई बाटोको म्याद बाहेक सूचना पाएको मितिले २४ घण्टाभित्र गोल्छा सहित लिखित जबाफ पेस गर्न आदेश दिएको छ ।
गोल्छा नेपाल बीमा प्राधिकरणको प्रतिवेदनअनुसार सेयर कारोबारमा बीमा ऐन विपरीत कसुर गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् । उनलाई सोमबारमात्रै जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले तीन दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।












