काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेशनपछि टिचिङमा उपचाररत् ओलीलाई भेट्न हिजो बिहीबार साँझ सवा ५ बजेतिर प्रचण्ड पुगेका थिए ।
दुई शीर्ष नेताहरुबीच ३० मिनेट जति कुराकानी भएको बताइएको छ । बजारमा वाम एकताको चर्चा चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले गोप्य भेट गरेका हुन् ।
जेनजी घटना दबाएको आरोपमा चैत १४ गते बिहानै पक्राउ परेका ओली त्यसयता टिचिङ हस्पिटलमा उपचारत छन् । पत्थरीको अप्रेशनपछि हिजो नर्मल बेडमा सारिएका उनलाई भेट्न प्रचण्ड त्यहीँ पुगेका थिए । प्रचण्ड र ओलीबीच ४० मिनेट कुराकानी भएको बताइएको छ ।
फागुन २१ को निर्वाचनमा नराम्रोसँग धक्का खाएका एमाले र नेकपाबीच एकीकरणको चर्चा भइरहँदा यो भेटवार्तालाई अर्थपूर्ण मानिएको छ । यसअघि आगामी सहकार्यका लागि ओलीका केही विश्वासपात्रले प्रचण्डलाई भेटेको दावी स्रोतको छ । वाम सहकार्य हुँदै आगामी स्थानीय निर्वाचनसम्ममा पार्टी एकता गर्नेगरी दुवैतिरका दोस्रो र तेस्रो तहका केही नेता निरन्तर अनौपचारिक संवादमा रहेको बताइन्छ ।
नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमसहितका नेताहरूलाई एमालेका पदाधिकारीले आगामी दिनको सहकार्यका विषयमा छलफल गरेको बताइन्छ । उनीहरुबीच करिब ४ घण्टा छलफल भएपछि प्रचण्ड ओलीलाई भेट्न पुगेको स्रोतले जानकारी दिएको छ ।












