काठमाडौं । बालश्रम गराउने लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले आज शर्मालाई हिरासत बाहिर राखेर थप अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
आइतबार न्यायाधीश जगतबहादुर पौडेलको इजलासले उक्त आदेश दिएको हो । जिल्ला अदालतले यस विषयमा पाटन उच्च अदालतबाट फैसला भइसकेको र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउनु नपर्ने निर्णय गरेकाले थुनामा राख्न आवश्यक नभएको आदेश दिएको हो ।
नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप उनलाई प्रहरीले पक्राउ गरेको थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।













