८ चैत्र २०८२, आइतबार

सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ । कांग्रेसका सभापति थापाले निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी दिँदै पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकार गरेको हो ।

शुक्रबार र आज आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गगनको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता देवराज चालिसेले विज्ञप्तिमार्फत जनाएका छन् । उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए ।

”सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी दिँदै थापाले पदबाट राजिनामा दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !