काठमाडौँ । देशले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् । बिहीबार कर्णालीमा पुगेर प्रधानमन्त्री कार्कीले यस्ताे बताएकी हुन् ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्की आज बिहान मुगु जिल्लाको रारा प्गेकी हुन् । त्यहाँ जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया समेत गरेकी थिइन् । त्यसपछि उनी जुम्लाको खलंगा पुगेर जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रियामा सहभागी भइन् ।
सो क्रममा उनले सीमित स्रोतसाधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सुरक्षा निकाय र कर्मचारीहरूको प्रशंसा गरिन् ।
उनले स्थानीय बासिन्दासँग पनि भेटघाट तथा अन्तरक्रिया गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरिन् ।
यसै क्रममा, प्रधानमन्त्री कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन पनि गरेकी छन् । २०३७ मा स्थापना भएको उक्त संस्थालाई नेपालकै पहिलो प्राविधिक शिक्षालयमध्ये एक मानिन्छ ।













