२८ फाल्गुन २०८२, बिहिबार

बैठकमै ढलेका एमाले नेता कृष्ण थापाको निधन


पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ । बिहीबार कास्कीमा आयोजित जिल्ला कमिटीको बैठकमा बोल्ने क्रममा उनी अचानक ढलेका थिए ।

बैठकस्थलमै अचानक बेहोस भएर ढलेपछि उनलाई तत्काल उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । चिकित्सकले जाँच गर्ने क्रममा उनलाई हृदयघात भएको पुष्टि गरेका छन् । अस्पताल स्रोतका अनुसार उपचारको प्रयास भए पनि उनलाई बचाउन नसकिएको जनाइएको छ ।

थापाको शव हाल मणिपाल अस्पतालमै राखिएको छ। पार्टीका नेता तथा कार्यकर्ता अस्पताल पुगेका छन् भने परिवारलाई पनि जानकारी गराइएको छ ।

कास्की–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाइएका थापाको टिकट पार्टीभित्रै विरोध भएपछि पछि खोसिएको थियो। त्यसपछि उक्त क्षेत्रमा एमालेले रश्मि आचार्यलाई उम्मेदवार बनाएको थियो। टिकट विवादपछि पनि थापा पार्टी संगठनमै सक्रिय रहँदै आएका थिए।

उनको निधनको खबर सार्वजनिक भएपछि एमालेका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्न थालेका छन्। पार्टीले छिट्टै औपचारिक शोक वक्तव्य जारी गर्ने तयारी गरेको बताइएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !