काठमाडौं । आज राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने भएको छ । आज मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ ।
नेपाली सेनाले आन्दोलनका कार्यक्रम नरोकिए अहिले राति १० बजेदेखि नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्ने स्पष्ट पारेको छ । राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने काम’ गरेको भनिएको छ । यस्तोमा त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि अपिल समेत गरिएको छ ।
सेनाले सेनासहित अन्य सुरक्षा निकाय पनि तैनाथ हुने जनाउँदै भनेको छ– यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिवद्धता जानकारी गराउदछौँ ।”













