काठमाडौं । काठमाडौंमा जेनजी पुस्ताले दोस्रो दिन पनि प्रदर्शन सुरु गरेका छन् । नयाँ बानेश्वर क्षेत्रमा भेला भएर युवाले प्रदर्शन सुरु गरेका हुन् । जेन्जी बिहानैदेखि भेला भइरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४२१ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आज बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।












