२६ श्रावण २०८३, मंगलबार

आगलागीमा ज्यान गुमाएकाको परिवारलाई वीमा प्रदान


Nepalpatra

१५ असार, सुर्खेत । आगलागीमा ज्यान गुमाएका चन्दननाथ नगरपालिका–४ जुम्लाका लक्ष्मीचन्द्र उपाध्यायको परिवारलाई रु ३१ लाख ५६ हजारको वीमा प्रदान गरिएको छ ।

बिहीबार जुम्लामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वर्गीय उपाध्यायकी धर्मपत्नी अप्सरा उपाध्यायलाई रु ३१ लाख ५६ हजारको चेक हस्तान्तरण गरेको हो । जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढा र प्राइम लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख रामबहादुर शाहीले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभयो ।

बीस वर्षे वीमा गरी एउटा मात्र किस्ता रु दुई लाख १० हजार तिरेका लक्ष्मीचन्द्रको गत वर्ष पुस २४ गते आफ्नै घर नजिक भएको आगलागीमा मृत्यु भएको सो इन्स्योरेन्सका अभिकर्ता कल्से रावतले जानकारी दिनुभयो । मृतक उपाध्यायको परिवारले भिसेरा रिपोर्ट पेस गरेपश्चात् उपाध्यायको मृत्यु दुर्घटना हो भने प्रमाणित भएमा पुनः रु ३० लाख वीमा कम्पनीले दिने उहाँले बताउनुभयो ।

चेक ग्रहण गर्दै स्व उपाध्यायकी धर्मपत्नी अप्सराले दैवले असहयोग गर्दा वीमाले सहयोग गरेको बताउनुभयो । अप्सराका एक छोरा र तीन छोरी छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !