काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारका प्रवक्ता एवं न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमत नभएको खुलासा गरेका छन् ।
आज सोमबार बेलुकी मन्त्रिपरिषद् बैठकबारे जानकारी दिने क्रममा पत्रकारले सोधेको प्रश्नको उत्तर दिंदै कार्कीले नियम निलम्बन गरेर बजेट पारित गर्ने सरकारको प्रस्तावमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले असहमति जनाएको प्रष्ट पारेका हुन् ।
कार्कीले आफूले केही दिनअघि ओलीसँग भेटवार्ता गरेर नियम निलम्बन गरी बजेट पारित गर्नेबारे छलफल गरेको मन्त्री कार्कीले खुलासा गरेका हुन् । तर ओलीले असहमति प्रकट गरेको र वार्ताद्वारा समस्या समाधानको प्रयास जारी रहेको उनले जानकारी दिए ।
उनले पर्सी २३ भदौदेखि संघीय संसदको अधिवेशन शुरु हुन लागेको सन्दर्भमा प्रमुख प्रतिपक्ष दल एमालेसँग वार्ताद्वारा समस्या समाधान गरेर अगाडि बढ्ने बताए ।













