२४ जेष्ठ २०८३, आइतबार

बाढी-पहिरो प्रभावितलाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारलाई प्रचण्डको आग्रह


प्रचण्ड फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी-पहिरो प्रभावितहरुको लागि तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन् । आज बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै उनले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई समेत निर्देशन दिएका छन् ।

उनले केही दिन अघिदेखि परेको अविरल बर्षासँगै देशका विभिन्न भागहरुमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त व्यक्त गरेका छन् । यस्तै बाढी र पहिरोमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढी र पहिरोमा परी हराई रहेकाहरुको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह पनि गरेका छन् ।

बाढी-पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति हुनुका साथै कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको उनले बताएका छन् ।

मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको उनले उल्लेख गरेका छन् ।

हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू-भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गरेका हुन् ।

यस महाविपत्मा राहत र उद्धार कार्यमा आ-आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन दिंदै राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेका छन् ।

 सरकारलाई प्रचण्डको आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु