धार्मिक कार्यमा लसुन, प्याज र मासु नखाने बारे वैज्ञानिक विश्लेषण

Ram Thakuri

– राम ठकुरी

हिन्दु, बौद्ध र जैन परम्परा अन्तर्गत हामीले अपनाउदै आएको धेरै संस्कारहरु वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि अत्यन्तै ठिक छन्। जस्तै: व्रत बस्दा नुहाउने चलन सफा र स्वस्थ शरीरको लागि राम्रो मानिन्छ। बिहान मन्त्र पढ्दा मन एकाग्र भई मस्तिष्क सबल हुने हुन्छ। पुजा गर्दाको शंखको आवाजको तरङ्गले कतिपय किटाणुहरु नष्ट हुने हुन्छ। शंख, घण्ट र अन्य बाजा बजाउँदा निस्कने ध्वनिको तरङको कम्पनले शुक्ष्म जीव, ब्याक्टेरियाको कोशको बृद्धी र संक्रमणलाई रोक्ने गर्दछ। त्यस्तै मासिक धर्मको बेला श्राव भएको रक्तलाई सुक्ष्मजीव ब्याक्टेरियाले छिटो सढाउने अनि संक्रमण हुनेहुँदा महिलाले नुहाउनुपर्ने चलन उत्तम छ।

खाना खाने थालको वरिपरि पानीको रेखी हाली खाना चढाउँदा मसिना किराहरुलाई भुइँमै अल्मलाउन सकिन्छ। बिभिन्न पुजा र षोड्श संस्कारमा प्रयोग गरिने पन्चगब्य बनाउन प्रयोग गरिने गाइको मुत्रमा किटाणु सखाप पार्ने रसायन एन्टिबायोटिक रहेको हुन्छ। यस्ता धेरै उदाहरणहरु छन्।

ब्रतादी पुजा, काजकृया र श्राद्ध आदिमा मासु, लसुन र प्याज किन नखाने गरिएको होला भन्ने जिज्ञासा कतिलाई लागेको हुन सक्छ। हाम्रो षोड्श संस्कारले व्रत, काजकृया र श्राद्धको समयमा मनलाई पवित्र, शुद्ध र शान्त गर्नुपर्ने बताइएको छ। झन् जुठो कृया अनि श्राद्धको अघिल्लो दिन र श्राद्धको दिनमा त मृतात्माको सम्मानको लागि रिस, क्रोध हटाइ पवित्र र शान्त मनको साथ रहनुको साथ साथै सम्भोग (शारीरीक सम्पर्क) नगर्न भनिएको छ। तामस खानाको रुपमा लिइएको मासु र अण्डाले रीश र क्रोध बढाउन सक्छ । मासु र अण्डामा भएको प्रोटिनका अणु( एमिनो एसिड) हरुले यौन अंगमा रगतको प्रवाह तिब्र हुनगई उत्तेजना ल्याउने हुन्छ। साथै स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै लाभदायक लसुन र प्याजले पनि यौन उत्तेजना ल्याउने भएकोले  शुद्ध कार्यमा यी चिज नखाने चलन वैज्ञानिक दृष्टिले हेर्दा सार्थक छ ।

प्रतिकृया दिनुहोस्