१२ श्रावण २०८१, शनिबार

के हो विज्ञान ?


विज्ञान

काठमाडौँ । कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ । अझ सरल भाषामा भन्नुपर्दा विज्ञान भनेको प्रमाणको आधारमा व्यवस्थित पद्धतिको अनुसरण गरी प्राकृतिक र सामाजिक संसारको ज्ञान र बुझाइको खोजी र प्रयोग हो । अलि गहन भाषामा भन्दा विज्ञान एक व्यवस्थित ज्ञान हो जसले ब्रह्माण्डका बारेमा परीक्षणयोग्य ब्याख्या र भविष्यवाणीहरूको ज्ञानलाई स्थापित र व्यवस्थित बनाउँछ ।

विज्ञान हाम्रो जीवनको लगभग हरेक पक्ष भाग हो । विज्ञान मनुष्य जातिको साझा सम्पदा हो । विज्ञान मानव सम्पदाको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो । आजको युग भनेको विज्ञान र प्रविधिको युग हो ।  विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वास्तवमा भन्नुपर्दा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ । यसमा भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान पर्दछन । प्रकृति र बिज्ञान वीच गहिरो सम्वन्ध रहेको हुन्छ ।

विज्ञानमा बैज्ञानिकहरुले पहिला अवलोकन गर्छन । अनि त्यो किन कसरी भयो भनी प्रश्न गर्छन् । त्यसपछि परिकल्पना गर्न शुरु गर्छन् । त्यो परिकल्पना अनुसार धेरै पटक प्रयोग वा परीक्षण गरेपछि अन्त्यमा गएर बैज्ञानिक सिध्दान्त बन्छ । हाम्रो पूर्वीय दर्शनले कल्पना धेरै गर्‍यो, तर त्यसको परीक्षण गर्ने उपकरणको विकास गर्न सकेन । यद्यपी हामीसँग बेदहरु भएतापनि विज्ञानको उचित विकास हुन सकेन ।

जहाँ बिज्ञान हुन्छ, त्यही प्रकृति हुन्छ र जहाँ प्रकृति हुन्छ, त्यही प्रकृतिको नियम नै विज्ञानको रुपमा परिभाषित हुनपुग्छ । प्रकृति वा सृष्टिको नियम भनेको बिज्ञान वा मानिसले स्थापित गरेको अध्ययनको एक शास्त्र हो । विज्ञानले आफै नियम बनाउन सक्दैन तर यसले प्रकृतिको नियमलाई उजागर गर्दछ जुन नियमलाई विज्ञानले आफ्नै उपमा दिएको हुन्छ र यसलाई नै विज्ञानको नियमले चिनिन्छ ।

मानिसले परापूर्वकालदेखि विज्ञान तथा प्रविधिको प्रयोग गरेको पाइन्छ । विज्ञान तथा प्रविधिलाई देशको विकास र समृद्धिको मेरूदण्ड मानिन्छ । यसको विकास बिना कुनै पनि राष्ट्रको प्रगतिलाई तीव्र पार्न सकिँदैन । विज्ञानले प्रविधिको विकासमा मद्दत गर्दछ भने स्तरीय प्रविधिले विज्ञान शिक्षालाई स्तरीय बनाउँछ ।

भनिन्छ, विज्ञान रूख हो भने प्रविधि त्यसमा फल्ने फल त्यसैले देशमा विज्ञानको विकास भयो भने मात्र देशभित्रै माटो सुहाउँदो आवश्यक प्रविधिको विकास गर्न सकिन्छ । विज्ञान तथा प्रविधिको विकासले विश्वभरी मानिसको जीवनमा आमूल परिवर्तन ल्याएको छ ।

संयुक्त राज्य अमेरिका विज्ञान तथा प्रविधिको विकासले नै संसारको सबैभन्दा शक्तिशाली राष्ट्र बन्न पुगेको हो । विज्ञानको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई व्यवहारमा लागू गर्न सकिएमा मात्र गरिबी न्युनीकरणमा सहयोग पुग्ने कुरा बैज्ञानिकहरु बताउछन् ।

सन्दर्भ सामग्रीहरु

१. के हो त विज्ञान तथा प्रविधि भनेको ? (https://nepalpatra.com/science/44291)

२. के हो विज्ञान ? (https://scienceinfotech.com.np/6282)

३. विज्ञान (https://ne.wikipedia.org/wiki/विज्ञान)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !