१४ बैशाख २०८१, शुक्रबार

निर्वाचन आयोगबिरुद्व सडक आन्दोलनमा जाने चेतावनी


प्रमुख निर्वाचन आयुक्त

१७ पुस काठमाडौँ l वामपन्थी गठबन्धनका युवा र विद्यार्थी संगठनले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर राजनीतिक दलका नेतालाई संविधान पढाउने प्रयास नगर्न चेतावनी दिएका छन् । उनीहरुले तत्काल समानुपातिकको नतिजा सार्वजनिक नगरे सडक आन्दोलनमा जाने बताएका छन् ।
एमालेसम्बद्ध युवा संघ नेपाल, अनेरास्ववियु र माओवादीसम्बद्ध वाईसीएल नेपाल र अखिल क्रान्तिकारीको तर्फबाट ज्ञापनपत्र बुझाउँदै आयोगले प्रतिनिधिसभालाई पूर्णता दिन नचाहेको भन्दै असन्तुष्टि जनाएका हुन् । देशलाई अन्यौलबाट मुक्त गरी स्थिर सरकार गठनको बाटो सहज बनाउन उनीहरुले आयोगलाई आग्रह गरेको बताएका छन् ।

भेटपछि युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले भने, ‘निर्वाचन आयोगले आफ्नो दायित्व निर्वाह गर्नुको साटो संविधान बनाउने नेताहरुलाई संविधान पढाउन खोज्दैछ । हामीले संविधान बनाउने नेतालाई संविधान पढाउनुको साटो आफ्नो दायित्व निर्वाह गर्न आग्रह गरेका हौं ।’प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभाको पूर्णता हुन संवैधानिक र कानुनी जटिलता रहेको बताए । उनले संघीय संसदमा प्रत्येक दलको ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने र त्यसका लागि राष्ट्रियसभा चुनाव हुनुपर्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त यादवलाई बुझाइएको ज्ञापनपत्रमा युवा संघ अध्यक्ष राजिव पहारी,अखिल अध्यक्ष नविना लामा,वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा र अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ-आयोगको ढिलासुस्ती र सरकारको आयु लम्ब्याउदै मुलुकलाई अस्थिरता र गतिहीनतातर्फ लैजाने प्रपञ्च हामीलाई मान्य हुने छैन र यस्तै गरे कडा आन्दोलनमा जान बाध्य हुनेछौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !