१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय दल बन्ने सम्भावनाका यी पाँच दल


रास्ट्रिय दल

२९ मंसिर, २०७४ । प्रतिनिधिसभामा पाँचवटा दलले मात्रै राष्ट्रिय पार्टीका रूपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ । समानुपातिक तर्फको मतगणना सकिएको छैन । बिहीबार राति १०:३० बजेसम्म ८५९४३७१ मत गणना भएको छ । आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको जनाएको थियो ।

मतगणना अनुसार एमाले, कांग्रेस र माओवादी केन्द्र बाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मात्रै समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याउने देखिन्छ । समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न पाउने संवैधानिक प्रावधान छ । राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्षतर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसद्मा राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन् । समानुपातिकतर्फ गणनामा एमालेले २९१२२३०, कांग्रेसले २८२७८१५ र माओवादीले ११७०३७५ मत ल्याएका छन् । यस्तै, फोरमले ४१३९५५ र राजपाले ३७१०४७ मत ल्याएका छन् ।
गणना नसकिँदै कुन–कुन दल राष्ट्रिय पार्टी बन्ने वा समानुपातिकमा सिट पाउने भन्न नसकिने निर्वाचन आयोगले बताएको छ । समानुपातिकतर्फ ४/५ प्रतिशत हाराहारीमा मत बदर हुने अनुमान गरिएको छ । समानुपातिकको सिट बाँडफाँट गर्दा सदर भएको मतको ३ प्रतिशतभन्दा कम ल्याएका दलको मतलाई गणना गरिने छैन । ३ प्रतिशत बढी मतको मात्रै कुल योगफल निकाली समानुपातिकको १ सय १० सिट बाँडफाँट हुनेछ । समानुपातिकमा ३ प्रतिशत नकटाउनेले एउटा पनि सिट पाउनेछैनन् । न्यूनतम ३ प्रतिशत मत पुर्यासउनेले भने ४ देखि ५ वटासम्म सिट पाउने सम्भावना छ ।

प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपा समानुपातिकमा ३ प्रतिशत पुर्यामए मात्र राष्ट्रिय पार्टी बन्न सक्छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेको विवेकशील साझा पार्टीले समानुपातिकमा ३ प्रतिशत पुर्याकएमा प्रतिनिधित्व त पाउनेछ तर प्रत्यक्षमा सिट नजितेकाले राष्ट्रिय पार्टीको मान्यता भने पाउनेछैन ।
प्रत्यक्षमा एक सिट जितेका नयाँ शक्ति पार्टी, मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिकमा पाएको मत १ प्रतिशतमुनि देखिएकाले र अब गणना पनि धेरै बाँकी नरहेकाले ती दल राष्ट्रिय पार्टीको सूचीमा अटाउने छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !