१४ बैशाख २०८१, शुक्रबार

गठबन्धनको तयारीमा फोरम र राजपा


राजपा र फोरम

२८ मंसिर, काठमाडौँ l प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ मा बहुमत सिटमा विजय हासिल गरेसँगै मधेस गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) प्रदेश सरकार निर्माणसँगै पार्टी एकताको तयारीमा जुटेका छन्।

स्थानीय तह निर्वाचनमा प्रदेश २ मा पाएको मतले हौसिएका फोरम र राजपा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर मैदानमा उत्रिएका थिए। यो गठबन्धनलाई प्रदेशसभामा प्रत्यक्षतर्फ प्रस्ट बहुमत प्राप्त भएको छ। प्रत्यक्षतर्फ ६४ सिट रहेको यस प्रदेशमा मधेसी गठबन्धनले ३५ सिट जितेको छ। समानुपातिक निर्वाचनको परिणाम भने आइसकेको छैन। प्रदेश २ को प्रदेशसभा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सदस्यीय हुन्छ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपासँग एकता प्रस्तावलाई सकारात्मक रुपमा लिएको बताएका छन् । ‘मधेसी जनताको जनादेशको कदर हामी सबैले गर्नुपर्छ । म एकताको बाधक बन्दिनँं । गत स्थानीय तहको जनादेशलाई आत्मसात गरेर यो चुनावमा हामी मिलेर मधेसी जनताको दैलोमा पुग्दा असीम समर्थन पाएका छौं’, यादवले भने, ‘हामी मजबुत नभएसम्म मधेसको अधिकार संस्थागत गराउन मुस्किल छ ।’ मजबुत मधेस सरकार र मधेस प्रदेशको आर्थिक मजबुतीका लागि पनि मधेसी दल मिल्नुको विकल्प नरहेको पनि उनलेबताए ।

यो प्रदेशमा सरकार निर्माण गर्ने विषयमा फोरम र राजपाबीच छलफल सुरु भइसकेको छ। यी दुवै दलमध्ये बढी सिट जितेकालाई मुख्यमन्त्री लिने लगभग सहमति भइसकेको राजपाका एक नेताले बताए।

दुवै दलबीच प्रादेशिक सरकार गठन र पार्टी एकताका लागि औपचारिक संवाद सुरु भएको छ। ‘पार्टी एकताका लागि घनिभूत छलफल जरुरी छ,’ राजपा अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले भने, ‘अहिले हामी सबै मतदातालाई धन्यवाद दिन घरदैलौमा व्यस्त छौ।’ दुईतीन दिनभित्रै अध्यक्षमण्डलका सबै सदसयसहित फोरम अध्यक्ष उपेन्द्र यादवलगायत पदाधिकारीसँग बसेर पार्टी एकताका लागि छलफल अघि बढाउने तयारी भएको उनले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !