२९ बैशाख २०८१, शनिबार

धर्मगुरू गुर्मितका पक्षमा प्रदर्शन जारी, ३० को मृत्यु, २ सय घाइते


MSG-gurmeet-ram-rahim

शुक्रबार एक स्वघोषित गुरु गुर्मित राम रहिम सिंहलाई अदालतले बलात्कारमा दोषी ठहर गर्दै जेल चलान गर्ने फैसला गरेपछि भारतका विभिन्न राज्यमा हिंसा भड्किएको छ।

उत्तरी भारतीय सहरमा शनिबार सयौं सैनिक तैनाथ गरिएता पनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ ।

यस प्रदर्शनको क्रममा अन्य २ सय घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ । यद्यपी सरकारी स्रोतले एएफपी समाचार समितलाई दिएको जानकारी अनुसार जारी प्रदर्शनको क्रममा कम्ती ३२ व्यक्तिको मृत्यु भएको छ । यस घटनामा गोली प्रहारबाट नै व्यक्तिहरु हताहत भएको छन् ।

गैर नाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था ‘डेरा’का प्रमुख समेत रहेका सिंहका समर्थकद्वारा भएको प्रदर्शनका क्रममा जारी झडपमा परी देशका विभिन्न शहरमा उनीहरुको मृत्यु भएको हो ।

हरियाना राज्यको पञ्चकुला सहरमा सिंहका हजारौं समर्थकहरुले अदालतको फैसलाको विरोध गर्दै स्थानीय टेलिभिजनका गाडीहरु, सार्वजनिक तथा निजी सवारी साधनहरु, भवनहरु लगायतमा तोडफोड गरेका छन्।

उनीहरुले कतिपय ठाँउमा आगजनी समेत गरेका सरकारी अधिकारीहरुले बताएका छन्।

हरियाना र छिमेकी राष्ट्र पञ्जावमा मोवाईल फोन सेवा अवरुद्ध भएको छ । हिंसा थप बढ्न नदिन शुक्रबार बेलुकादेखि नै सरकारले उच्च सुरक्षा सतर्कता बढाएको छ ।

सिंहले आफ्ना दुई जना अनुयायीहरुलाई बलात्कार गरेको ठहरसहित अदालतले शुक्रबार उनलाई दोषी भएको जनाएको थियो ।

सीबीआईका न्यायाधीश जगदीप सिंहका अनसार ५० वर्षीय डेरा प्रमुखलाई दोषी ठहर गर्दै आगामी अगस्त २८ गते सजाय सुनाइने बताएका छन् । सिंहका अनुसार गुरमितलाई सातदेखि १० बर्षसम्मको आजीवन कैद हुनसक्ने छ ।

प्रदर्शनका क्रममा ५० जना प्रहरी तथा सुरक्षाकर्मी सहित झण्डै २०० जना घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले हरियाणा, पञ्जाव र राजस्थानसमेतका शहरहरूमा व्यापक हस्तक्षेप गरेको र अश्रुग्यास, पानीका फोहरा, हवाई फाएर गरेको दर्शनकारीले जनाएका छन् । प्रदर्शनकारीले जुलुशमा सहभागीहरूलाई ताकेरै गोली चलाएको दाबी पनि गरेका छन् ।

को हुन् रहिम?

५० वर्षिय रहिम राजस्थानको गंगानगरमा जन्मिएका थिए। गाउँकै स्कुलबाट उनले माध्यामिक तहको शिक्षा पूरा गरे। उनको घरमा पत्नी तीन छोरी र एक छोरा छन्।

२३ वर्षको उमेरमा उनी देरा सच्चा सौदाको प्रमुख भएका थिए। ‘गैरनाफामुखी सामाजिक कल्याण र आध्यामिक संस्था’ भनिने देरा सच्चा सौदाका संसार भरि ४६ वटा केन्द्र छन् भने करिब छ करोड मानिस यसका अनुयायी छन्। सन् १९४८ मा शाह मस्तानाले यसको स्थापना गरेका थिए।

रहिम १९९० मा यसको प्रमुख भएका थिए। त्यसपछि संस्था र उनी बेलाबेलामा विवादमा आइरहन्थे।

सन् २००२ मा भारतको संघीय प्रहरीले रहिममाथि बलात्कार र हत्या आरोपमा छानबिन थालेको थियो।

‘रक स्टार बाबा’ नामले समेत चिचिने रहिम गीत गाउने, कन्सर्ट गर्ने, म्युजिक भिडियो र फिल्म समेत खेल्ने गर्थे।

सन् २००७ मा शिख गुरु गोविन्द सिंहको भेषमा एक विज्ञापनको भिडियोमा देखिएपछि उनको आलोचना भएको थियो। २०१५मा उनी एक भिडियोमा हिन्दू भगवान बिष्णुको अवतारमा देखिएपछि उनीविरुद्ध उजुरी परेको थियो। यो अवधिमा उनी दर्जनभन्दा बढी आरोपमा मुछिएका छन्।

उनको वेवसाइटमा आध्यात्मिक गुरु, समाजसेवी, गायक र खेलाडीका रूपमा परिचय दिइएको छ।

ठूलो मात्रामा समर्थक रहेका उनको देरा सच्चा सौदा सत्तारुढ भारतीय जनता पार्टी र प्रतीपक्षी कांग्रेस आईले समेत सहयोग गर्दै आएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !