१४ बैशाख २०८१, शुक्रबार

मातृभाषा र लिपि संरक्षणमा नयाँ पुस्तालाई जिम्मेवार बनाउनुपर्छ


Nepalpatra

२ जेठ, हेटौँडा । प्रदेश नं २ का मुख्यमन्त्री डोरमणि पोैडेलले दुर्गम भेगमा बसोबास गर्ने जातिका लोप हुन लागेको मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई जीवन्त राख्न जिम्मा युवा पुस्तालाई दिनुपर्ने र भाषा आयोगले यसमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालय र भाषा आयोगको संयुक्त आयोजनामा आज हेटौँडामा आयोजित ३ नं प्रदेशस्तरीय भाषा संगोष्ठीको उद्घाटन गर्दै उहाँले प्रौढ पुस्ताबाट युवा पुस्तालाई मातृभाषा, लिपि, कला र संस्कृतिको ज्ञान दिने अभियान चलाउनुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय गरेर दीर्घकालसम्म मातृभाषा र लिपिलाई संरक्षण गर्न आगामी आर्थिक वर्षदेखि गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गर्दै लैजाने वचनबद्धता प्रकट गर्नुभयो ।

सामाजिक विकासमन्त्री युवराज दुलालले विभिन्न भाषाभाषीको लिपि र साँस्कृतिक धरोहरलाई दिगो रुपमा संरक्षण गर्न सरकारको प्रयास मात्र सम्भव नहुने उल्लेख गर्दैै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका लागि पाठ्यपुस्तकको व्यवस्था गरिदिनुपर्ने बताउनुभयो ।

भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपाली भाषाका साथै आदिवासी जनजाति, लोपोन्मुख चेपाङ्ग, सिमान्तकृत र दलित समुदायको भाषा, लिपि र सस्कृतिलाई सयौं वर्षसम्म संरक्षण गर्दै व्यवहारिक रुपमा प्रयोगमा ल्याउन आयोगले सुझाव संकलन गरिरहेको जानकारी दिनुभयो ।

संगोष्ठीमा ३ नं प्रदेशअन्तर्गत पर्ने १३ जिल्लाका स्थानीय निकायका प्रमुख उपप्रमुख, विभिन्न जाति समुदायका पर्ववेक्षक, शिक्षक शिक्षिका, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि गरी २८५ जनाको सहभागिता रहेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !