१४ बैशाख २०८१, शुक्रबार

हिमपातले गाउँ फर्कनै पाएनन् मनाङवासी


manang

१७ फागुन, मनाङ । मङ्सिरमा जाडो छल्न जिल्ला बाहिरेका मनाङवासी गाउँ फर्कने समय भएपनि स्थानीय गाउँले यो वर्ष अहिलेसम्म जिल्ला फर्कनसकेका छैनन् ।

वर्षमा एक सिजन मात्र खेतीपाती हुने यस ठाउँमा खेतीपातीको सिजन शुरु भए पनि हाल सम्मको हिमपातले गर्दा जिल्ला फर्कन सकेका छैनन् । हिमपातले कसैलाई छोडेन । सर्वसाधारण, केटाकेटी, कर्मचारी, किसान पशुचौपया खेतीपाती सबै प्रभावित भएको चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजङ्ग गुरुङले बताउनुभयो ।

उहाँका अनुसार खेतीपाती थन्काएर जाडो छल्न जिल्ला बाहिर रहेका मानिस जिल्ला भित्रिएर आफ्नो व्यवसाय र खेतीपाती धमाधम शुरु हुने बेलामा गाउँघर सुनसान भएको छ । कोहीले पहिले नै जिल्ला छाडे, कोही हिमपात पर्न थालेपछि जिल्ला बाहिरेका उहाँले बताउनुभयो ।

माघ १५ भित्र जिल्ला आउने मनाङवासी यस पटक भने फागुनको दोस्रो सातासम्म जिल्ला भित्रनसकेका छैनन् । अब त सिजन शुरु भयो भनी आवश्यक सामान लिएर आएका मनाङ्गे भारी हिमपातका कारण लमजुङ बेँशीसहरमा नै अड्किएका छन् ।

गाउँ जाने भनेर हिँडेको तीन पटक भयो अझै गाउँ फर्कन सकिएको छैन, पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । उहाँका अनुसार पर्यटकको सिजन शुरुसँगै विदेशी तथा आन्तरिक पर्यटकले खचाखच हुने बेलामा हिमपातले सखाप बनाएको छ । “गाउँभरी मानिस खेतीपाती र आफ्नो व्यवसायमा व्यस्त हुने अवस्थामा गाउँघर नै सुनसान भएको छ ” उहाँले भन्नुभयो ।

अहिले मनाङका चार गाउँपालिकामध्ये मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिका सुनसान भएको छ । महीनांै दिनसम्मको निरन्तर परेको हिमपातले अलिअलि भएका मानिस पनि जिल्ला बाहिरेका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा भएका कर्मचारी पनि हिउँ पर्नथालेपछि बिदा लिएर झर्नथालेका छन् । कहिले हिमपात रोकिएला र सहज होला भनेर बस्नु परेको छ ।

उता नार्पा भूमि गाउँपाकिाका कर्मचारी गाउँपालिकामा बस्न नसकेर सदरमुकाम चामेबाट नै गाउँपालिकाको कामकाज गरिरहेका छन् भने मनाङ ङिस्याङ गाउँपालिका कर्मचारी विहीन नै भएको छ । गाउँपालिकाका लेखापाल कृष्णराज तिमल्सिनाले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !