१७ मंसिर २०८०, आइतबार

बाराको ऐतिहासिक पर्यटकीय गन्तव्य सिम्रौनगढ


सिम्रौनगढ

पृष्ठभूमि : सिम्रौनगढमा ११ औंदेखि १४ औं शताब्दीसम्मका सिम्रौन (कर्नाटवंशी राज्य) र १८०० वर्ष पुरानो गुप्ताकालीन पुरातात्विक कलाकृति तथा पुरावशेषहरू भेटिएका छन् । सन् १३२४ मा ग्यासुद्दिन तुग्लकबाट पराजित भएपछि पहाडतिर लागेका सिम्रौनगढका अन्तिम राजा हरिसिंह देव सिन्धुलीको तिनपाटन भन्ने स्थानमा दिवंगत भएका थिए । रानी देवलदेवी र छोरा जगतसिंह देवसहित उनका भारदारहरुको टोली भक्तपुरको मल्ल राजवंशमा समाहित भएको थियो ।

परिचय

नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा बारा जिल्लाको सिम्रौनगढलाई पनि छनोट गरेको छ ।

ऐतिहासिक र पुरातात्विक महत्व बोकेको सिम्रौनगढकै नामले प्रदेश न २ अन्तर्गत बारा जिल्लाको दक्षिणपूर्वी भागमा सिम्रौनगढ नगरपालिका बनाइएको छ । सिम्रौनगढ, वीरगञ्जबाट २८ कि.मी. पूर्वमा र काठमाण्डौबाट दक्षिण ९० कि.मी.को सिधा दूरीमा अवस्थित छ । किलाबन्दी रहेको सिम्रौनगढको परिधिलाई ‘बाही’ भनिने गरिन्छ । यसको आकार आयताकार रहेको र उत्तर–दक्षिणमा ६ किमी र पूर्व(पश्चिममा औसत ४.५ किमी रहेको छ । तिरहुतक्षेत्रभरी कर्णाटकालका मूर्ति, पोखरा, इनार, दुर्ग, भित्ता, खण्डहर तथा अन्य पुरातात्विक अवशेषहरू व्याप्त छन् । सिम्रौनगढ कर्नाटवंशको राजधानी रहेको हुनाले यहाँ यी वस्तुहरू धेरै बढ़ी र उच्चकोटिका भेटिने गरेका छन् ।

सिम्रौनगढ पुरातात्विक स्थल हो । यो स्थल सिमरा वनगढ, सिम्मनगाडा, पाटा इत्यादिको नामले समेत परिचित छ । यहाँ ११ औं देखि १४ औं शताब्दीका ‘सिम्रौन राज्य’ अथवा ‘कर्नाटवंशी राज्य’ र १८०० वर्ष पुरानो गुप्ताकालका विभिन्न पुरातात्विक कलाकृतिहरू तथा पुरावशेषहरू भेटिएका छन् । ‘सिम्रौन’ राज्यलाई ग्यासुद्दिन तुग्लकले सन् १३२४ तिर पराजित गरेपछि, त्यहाँका अन्तिम राजा हरिसिंहदेव पहाडतिर गएर काठमाडौं उपत्यकाको मल्ल राजवंशमा समाहित भएका थिए । यसको शासनका क्रममा उपत्यकाले कला, शिल्प, साहित्य र वास्तुको क्षेत्रमा उच्चतम् विकास हासिल गरेको इतिहासविदहरु बताउँछन् ।

धार्मिक तथा सांस्कृतिक महत्व

बलि नचढाइने संसारकै एकमात्र हिन्दु धर्मावलम्बीको शक्तिपीठको नामले परिचित कंकाली मन्दिर यस क्षेत्रमा नै छ । १२ औं शताव्दीमा तत्कालीन राजा शिवसिंहद्वारा निर्माण गरिएको महत्त्वपूर्ण राष्ट्रिय सम्पदा रानीवास मन्दिरले पनि आफ्नो छुट्टै पहिचान बोकेको छ । राष्ट्रकै सबभन्दा ठूलो पोखरा ‘५२ बिघा झरौखर पोखरा’ले पनि यसलाई थप रौनकता प्रदान गरेको छ । यस नगरकै हरिहरपुरमा अवस्थित एक विशाल पत्थरको बाकसको आफ्नै रहस्यमय सन्दर्भ छ । सन् १७३९ मा इटालियन पादरी क्यासियोनो, अंग्रेज विद्वान ब्राइन हड्सनले समेत यस क्षेत्रको अनुसन्धान गर्दा तयार पारेको पुस्तकले पनि यसलाई रहस्यमयको निष्कर्ष दिएका थिए । यसरी अहिले पनि यहाँका खेतहरूमा उत्खनन गर्दा तिरहुत सभ्यता झल्किने सुनचाँदीका मूर्ति र अन्य अवशेषहरू पाइने गरेका छन् ।

इतिहास

नान्यदेवले कर्णाटवंशको स्थापना सन् १०९७ मा सिम्रौनगढमा गरे । उनी पश्चात् कम्तिमा ५ जना शासकहरू क्रमशः गंग देव, नरसिंह देव, रामसिंह देव, शक्तिसिंह देव र हरिसिंह देव कोशीदेखि गण्डकी र महाभारत शृंखलादेखि गंगासम्म आधिपत्य कायम गरे । गोपालराज वंशावली अनुसार चारपटक यहाँका राजाहरूले उपत्यकामा समेत आक्रमण गरेका थिए । हिमालयी राज्यदेखि दक्षिण भारतको सांस्कृतिक सम्पर्क शंकराचार्यद्वारा विधिवत स्थापना भएपश्चात कर्णाटकीहरूले समेत यस परम्परालाई कला, साहित्यको आदान–प्रदानले निरंतरता दिए । तैपनि तीरभुक्तिका कर्णाटवंशी महाराजाहरूको उद्भव बारे विद्वानहरूमा एकमत छैन ।

कर्णाटवंशीहरूलाई चालुक्यहरूको उत्तरी भारत वर्षमा सोमेश्वर (प्रथम) र विक्रमादित्य (छैठौं) को पालामा एघारौं शताब्दीको पश्चाद्र्र्धितर गरिएको आक्रमणसंग जोडेर हेर्ने गरिन्छ । नान्यदेव बंगालका रामपाल, मदनपाल, विजयसेन, वल्लालसेनस कन्नौजका गोविन्दाचार्य गहड़वाल र कलिंगका राघवका समकालिन हुन् । उनले युद्ध तथा शान्ति विकास दुबैमा आफ्नो कौशल स्थापित गराएका थिए ।

तीरहुतिया कर्णाटहरू र बंगालका सेनहरू संघर्षरत थिए भन्ने कुरा देवपारा अभिलेखबाट प्रमाणित हुन्छ । नान्यदेवले आफ्नो शासनलाई स्थायित्व दिन सफल भएका थिए र उनले नेपालसम्म आफ्नो राज्य स्थापित गरेका थिए । नान्यदेवले यस क्षेत्रमा आधिपत्य कायम गर्न सम्भवतः चालुक्य राजा विक्रमादित्य (छैठौं) को सहयोग लिएका थिए । जसले सन् १०६८ को केही समय पश्चातनै नेपालमाथि आक्रमण गरेका थिए ।

सिम्रौनगढ विदेह र तिरहूत क्षेत्रमा विद्वत कामको केन्द्र रहेको थियो । महाराजाहरूले विद्वानहरूको समूहलाई आफ्ना सल्लाहकारको रूपमा राख्दथे र प्रधानमंत्री समेत प्रसिद्ध विद्वानहरू मध्येलाई नै बनाइन्थ्यो । कर्नाटकालका केही महान विद्वानहरू यसप्रकार थिए– चण्डेश्वर ठाकुर, ज्योतिरिश्वर ठाकुर, वाचस्पति मिश्र, देवादित्य, कर्र्मािदत्य, रामदत्त, इत्यादि ।
पर्यटन प्रर्वद्धन

पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको बाराको सिम्रौनगढ क्षेत्र पूर्वाधार विकास र प्रचार–प्रसारको अभावमा ओझलमा परेको छ । सम्वन्धित सरकारी निकायले यस क्षेत्रको विकासमा पूर्वाधार निर्माण र प्रचार–प्रसारमा चासो नदेखाएपछि पर्यटकहरूको आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेको यो क्षेत्र ओझलमा परेको हो ।

पर्यटकिय सम्भावना

यस क्षेत्रमा रहेका पोखरी र मन्दिरहरू पर्यटकका लागि आकर्षणका केन्द्र बन्न सक्ने सम्भावना रहेको छ । सिम्रौनगढ क्षेत्रमा इसरा र झरोखर जस्ता ठूला पोखरी, रानीबास र कङकाली जस्ता पुराना मन्दिरहरू छन । पोखरीमा डुङगा विहार गराएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ । पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको विकास हुन नसक्दा पर्यटक आउन सकेका छैनन् । झरोखर ५२ बिघा र इसरा पोखरीको जलाशय करिब २२ बिघा क्षेत्रमा फैलिएको छ ।

कसरी पुग्ने

बारा जिल्लाको पूर्वी-दक्षिणी क्षेत्रमा सिम्रौनगढ नगरपालिका अवस्थित छ  र यहा सजिलै सवारी साधन मार्फत पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्  

रौतहटको ऐतिहासिक पर्यटकीय स्थल नुनथर

धनुषाको ऐतिहासिक धार्मिक स्थल मणि मण्डप

सर्लाहीको मनोरम पर्यटकीय गन्तब्य नाढीमन ताल

महोत्तरीको प्रसिद्ध धार्मिक तीर्थस्थल जलेश्वर महादेव

मनोकामना पूरा गर्ने सप्तरीको धार्मिक शक्तिपीठ छिन्नमस्ता

सिराहाको ऐतिहासिक पर्यटकीय स्थल सहलेस दरबार पर्यटन क्षेत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !